कुण्डेश्वर महादेव मन्दिर धार्मिक पर्यटनस्थलका रूपमा विकास गरिँदै



काठमाडौँ । काठमाडौँ र सिन्धुपाल्चोकको सीमाक्षेत्रमा अवस्थित कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढाइएको छ।

शङ्खरापुर नगरपालिका–१, २ तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ र १२ को सीमानामा पर्ने यो मन्दिर ऐतिहासिक, पौराणिक र धार्मिक महत्वका लागि परिचित छ। यहाँ सतीदेवीको मृगौला पतन भई शिव शक्तिस्वरूप प्रकट भएको मान्यता रहिआएको छ।

मन्दिर परिसरमा रहेको ठूलो ढुङ्गाभित्रको कुण्ड कहिल्यै नसुुक्ने विश्वास छ। स्थानीय गणेश धिमालका अनुसार यो प्राकृतिक विशेषता दैवी शक्तिसँग जोडिएको मानिन्छ।

क्षेत्रको धार्मिक महत्वको प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ।

समापन समारोहमा शङ्खरापुरका नगर प्रमुख रमेश नापित र मेलम्चीका नगर प्रमुख आइतमान तामाङले मन्दिरसम्म पुग्ने बाटो कालोपत्रे गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महायज्ञबाट करिब आठ लाख रुपैयाँ संकलन भएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्