जापानमा भालुको आक्रमण बढ्दो, १३ जनाको मृत्यु



काठमाडौँ । जापानमा भालुको आक्रमणका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । शुक्रबार जापानको एक ‘स्की’ रिसोर्ट क्षेत्रमा भालु देखिएको रिपोर्ट प्राप्त भएको बताइएको छ । सरकारी तथ्याङ्कअनुसार गत अप्रिलयता देशभर भालुको आक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।

भालुहरू बस्ती क्षेत्रमा प्रवेश गर्ने, विद्यालय आसपास घुम्ने तथा सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा सार्वजनिक भइरहेका छन् । यसले स्थानीय बासिन्दामा त्रास बढाएको छ ।

नागानो प्रान्तको हकुबा ४७ माउन्टेन स्पोर्ट्स पार्ककी काजुया शिराकावालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले आइतबार दुई स्थानमा भालु देखिएको रिपोर्ट आएपछि हरेक दिन भालुको खुट्टाको छाप छ कि छैन भनी गस्ती बढाइएको जनाएको छ ।

सामान्यतया भालुहरू जाडोयाममा सुरक्षित स्थानमा लुक्ने गरे पनि यस वर्ष व्यवहार फरक देखिएको छ । यही महिनाको सुरुमै उक्त क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिक हिउँ सफा गर्ने क्रममा भालुले आक्रमण गरेको घटना सार्वजनिक भएको थियो ।

जापान सरकारले भालुको आक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता कडा बनाइरहेको जनाएको छ । वैज्ञानिकहरूका अनुसार घट्दो मानव जनसङ्ख्या र तीव्र गतिमा बढिरहेको भालुहरूको सङ्ख्याका कारण मानव–भालु द्वन्द्व बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्