मुस्ताङमा हिउँ चितुवाको आक्रमण, १९ भेडाच्याङ्ग्राको मृत्यु



मुस्ताङ। घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिक गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्राको मृत्यु भएको छ। स्थानीय सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा पसेको हिउँ चितुवाले उनीहरूको पशुधन मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ।

परियारका खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका मध्ये १९ वटा मारिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले जानकारी दिए। प्रारम्भिक अनुमानअनुसार घटनाबाट करिब छ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

घटनास्थलमा एक्याप जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली पुगेको जनाइएको छ।

हालका वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व, विशेषगरी हिउँ चितुवासँगको सामना, गर्दा समस्या बढ्दै गएको विशेषज्ञहरू बताउँछन्। हिउँदे समयमा चरन क्षेत्रमा आहारा कमी हुने हुँदा हिउँ चितुवा बस्ती नजिक आउँने र पशुपालकको पशुधनमा क्षति पुर्‍याउने घटना दोहोरिन थालेका छन्। जलवायु परिवर्तनका प्रभावसँगै मानव–हिउँ चितुवा सहअस्तित्व चुनौतीपूर्ण बन्दै गएको र केही किसानले पशुपालन व्यवसायसमेत छाड्न थालेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्