आगजनी र तोडफोड प्रकरणमा १० जना पक्राउ



कैलाली । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा गरिएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतमा भएको तोडफोड–आगजनीमा संलग्न रहेको भनिएका धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी घर भई धनगढी–३ बस्ने भरत बम, सोही स्थानका अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ का मनोज विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कैलाली कारागारमा तोडफोड र आगजनी गरेको अभियोगमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ का ४० वर्षीय वसन्तराज जोशी र १९ वर्षीय अङ्कित सक्सेनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार उनीहरूलाई फरक–फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरूमाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ।

जिल्ला अदालतमा भएको आगजनीका कारण भवनमा क्षति पुगेको र विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत सामग्री नष्ट भएका थिए। कारागारमा भएको तोडफोडले भौतिक संरचनामा क्षति पुगेको र केही कैदीबन्दी भाग्न सफल भएको प्रहरीले जनाएको छ।

यसैबीच, कैलालीको भजनी नगरपालिका–९, गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रमा लम्की ताल छेउको रुखको टोड्कोमा लुकाइराखिएको एक नाले भरुवा बन्दुक बुधबार प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्