
काठमाडौं, मंसिर २३ गते ।
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त रूपमा सञ्चालन गरिएको द्विपक्षीय सैन्य अभ्यास ‘SURYA KIRAN’ को १९ औं संस्करण सम्पन्न भएको छ। मंसिर ९ गतेदेखि भारतको पिथौराघाटमा शुरू भएको यो अभ्यास मंसिर २२ गते औपचारिक रूपमा समापन भएको हो।
वि.सं. २०६२ सालदेखि प्रारम्भ गरिएको यस अभ्यासले दुवै देशबीचको सैन्य सहकार्य र आपसी तालमेल मजबुत बनाउँदै आएको नेपाली सेनाले जनाएको छ।

अभ्यासमा विद्रोह दमन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला तथा मानवीय सहयोग जस्ता विषयहरू समेटिएका थिए। अभ्यासको प्रभावकारिताको अवलोकन तथा निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट एक Observer Delegation Team पनि भारतमा उपस्थित थियो।

नेपालले आफ्नो सैनिक क्षमताको अभिवृद्धि तथा विविध विषयगत सीप विकासका उद्देश्यले अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारतलगायतका मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालन हुने द्विपक्षीय तथा बहुपक्षीय अभ्यास तथा प्रतियोगिताहरूमा सहभागी हुँदै आएको छ।
यस किसिमका संयुक्त अभ्यासहरूले सहभागी राष्ट्रहरूबीचको आपसी सम्बन्ध, विश्वास तथा सैन्य कूटनीतिक सहयोगलाई अझ सुदृढ बनाउने नेपाली सेनाको विश्वास छ।






