आदर्श बालिकामा ‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया सम्पन्न



विराटनगर, मंसिर २१ — लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल युवा संरक्षक मञ्चको आयोजनामा विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले बालबालिकालाई लैंगिक हिंसाबाट मुक्त गर्न सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले डिजिटल माध्यमको दुरुपयोगका कारण बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार तथा बालबालिकाको सुरक्षासँग सम्बन्धित जोखिम र त्यसका समाधानका उपायबारे सहभागीलाई व्यवहारिक जानकारी दिइएको बताउनुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समितिका निवर्तमान अध्यक्ष सुनिता छाराहाङले प्रविधिको प्रयोग र सदुपयोगका विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँले डिजिटल माध्यमबाट हुने साइबर अपराधका सकारात्मक र नकारात्मक दुवै पक्षबारे विद्यार्थी तथा उपस्थित सरोकारवालालाई जानकारी गराउनुभयो।

आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर माध्यमबाट हुने लैंगिक हिंसाका घटना पनि बढ्दै गएको उल्लेख गर्दै विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो। उहाँले बालबालिकालाई डिजिटल युगमा प्रविधिको सही र सुरक्षित प्रयोग सिकाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोगका उपाय सिकाउँदै लैंगिक हिंसा अन्त्यका लागि व्यक्तिगत तहबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने सन्देश दिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्