इन्डोनेसियामा बाढी–वर्षाको कहर: हजारौँ प्रभावित, मृतक संख्या अझ बढ्ने चिन्ता



सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा फेरि भारी वर्षाको सम्भावना देखिएसँगै बाढीबाट प्रभावित क्षेत्रहरूमा संकट अझ गहिरिने जोखिम बढेको छ। अचे प्रान्तका गभर्नर मुजाकिर मनाफका अनुसार मृतकको संख्या ८८३ भन्दा माथि पुग्ने गम्भीर आशंका गरिएको छ, जसको मुख्य कारण भोकमरी बनेको छ।

गत हप्तादेखि सुमात्रासहित दक्षिण तथा दक्षिण–पूर्व एसियाका विभिन्न मुलुकमा आएको उष्णकटिबन्धीय आँधी र अविरल वर्षाका कारण इन्डोनेसिया, श्रीलङ्का, मलेसिया, थाइल्याण्ड र भियतनाममा ठूलो प्राकृतिक विपत्ति आएको छ। हालसम्म यी देशहरूमा कुल मृतक संख्या एक हजार ७७० नाघिसकेको छ।

इन्डोनेसियाको मौसम विभागले अचे र उत्तर सुमात्रामा पुनः भारी वर्षा हुने चेतावनी दिएको छ। बाढीका कारण ती क्षेत्रका सडक बगिएका छन्, घरहरू माटोले पुरिएका छन् भने खाद्यान्नसहित अत्यावश्यक आपूर्ति अवरुद्ध भएको छ। गभर्नर मनाफले भने, “टोलीहरूले अझै माटोमा पुरिएका शवहरूको खोजी जारी राखेका छन्। तर अहिले सबैभन्दा ठूलो चुनौती भनेको भोकमरी हो।”

उनका अनुसार धेरै प्रभावित बस्तीहरू अझै पनि सम्पूर्ण रूपमा पहुँचविहीन छन्। “मानिसहरू पानीले बगेर मात्र होइन, खाना नपाएर पनि ज्यान गुमाइरहेका छन्,” उनले भने। अचे टामियाङ्ग क्षेत्रका केही गाउँ पूर्ण रूपमा डुबानमा परेका छन्।

यसैबीच, अचेका स्थानीय बासिन्दा मुनावर लिजा जैनलले सरकारले तुरुन्तै राष्ट्रिय विपद् घोषणा नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार यो असाधारण प्रकृतिको विपत्ति भएकाले विशेष उपाय आवश्यक छ, तर राष्ट्रिय विपद् घोषणा ढिलाइ हुँदा राहत र उद्धार प्रभावकारी हुन नसक्ने देखिन्छ। विश्लेषकहरूले भने राष्ट्रिय विपद् घोषणा नगर्नुको एउटा सम्भावित कारण अतिरिक्त विदेशी सहायता जुटाउने रणनीतिसँग सम्बन्धित हुन सक्ने बताएका छन्। यद्यपि सरकारले भने स्थिति नियन्त्रणमै रहेको दाबी गरेको छ।

सुमात्राका केही अन्य क्षेत्रमा बाढी घट्दै जाँदा नदीको सतह पनि कम हुन थालेको छ, जसका कारण क्षतिको वास्तविक अवस्था क्रमशः स्पष्ट हुँदै गएको छ। इन्डोनेसियामा शनिबार बिहानसम्म मृतक संख्या ८८३ पुगेको पुष्टि गरिएको छ भने अझै ५२० जना बेपत्ता छन्। अन्य प्रभावित देशहरूमा श्रीलङ्कामा ६०७, थाइल्याण्डमा २७६, मलेसियामा दुई र भियतनाममा दुई जनाको मृत्यु भएको छ।

विश्लेषकहरूका अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा वर्षा झनै अनियमित र अप्रत्याशित बन्दै गएको छ, जसले यस्ता प्रकोपको जोखिम अझ बढाएको छ।

प्रतिक्रिया दिनुहोस्