ज्यान जोखिममा राखेर विद्यालय पुग्दै ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ नै एकमात्र सहारा



ओखलढुङ्गा । ओखलढुङ्गाको ढेबुवा क्षेत्रका स–साना विद्यार्थीहरू ज्यान जोखिममा राख्दै दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा अध्ययन गर्न बाध्य छन् । गत वर्ष असोजको बाढीले ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल बगाएपछि ढेबुवा र जेरुङघाटका २६ जना विद्यार्थी ‘रबरबोट’ को सहारामा नदी तरेर विद्यालय पुगिरहेका छन् ।

गाउँमै राम्रो शैक्षिक सुविधा भएको विद्यालय नभएकाले यी विद्यार्थीहरू सिन्धुलीको फिक्कल गाउँपालिकास्थित रत्नगङ्गा माध्यमिक विद्यालय र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । पुल बगाएपछि उनीहरू लामो समयसम्म पढाइबाट वञ्चित थिए । केही समयअघि गृहमन्त्रालयबाट प्राप्त रबरबोटलाई पालिकाको व्यवस्थापनमा सञ्चालन गरी विद्यार्थीलाई नदी तार्ने व्यवस्था गरिएको रत्नगङ्गा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारीले जानकारी दिए ।

उनका अनुसार बोटबाट विद्यार्थी ओसारपसार गर्नु अत्यन्त जोखिमपूर्ण र अस्थायी उपाय मात्र हो । “दीगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने स्थायी पुल निर्माण हो,” उनले भने, “तर ओखलढुङ्गातर्फका जनप्रतिनिधिबाट अपेक्षित पहल हुन सकेको छैन ।” पुल बगाएपछि सम्बन्धित सांसद र गाउँपालिकासँग समन्वयका प्रयास भए पनि ठोस पहल नभएपछि बाध्य भएर रबरबोट सञ्चालन गर्नुपरेको उनले बताए ।

मौसम परिवर्तनसँगै नदीको बहाव बढ्ने भएकाले विद्यार्थीलाई दिनहुँ जोखिम मोलेर विद्यालय ल्याउनु पर्ने बाध्यता छ । दिउँसो अचानक बाढी आएमा विद्यार्थीहरू सिन्धुलीतर्फ नै अस्थायी रूपमा बस्नुपर्ने अवस्था आउने गरेको छ । विद्यार्थी ओसारपसारका लागि फिक्कल गाउँपालिकाले सुरुदेखि एक जना कर्मचारी राखेको छ भने सुनकोशी गाउँपालिकाले पनि कर्मचारीका लागि तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार तीनखण्डेमा पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको भए पनि सरकार परिवर्तनसँगै योजना ओझेलमा परेको छ । “यो हाम्रो प्रत्यक्ष कार्यक्षेत्रको समस्या नभए पनि छिमेकी जिल्ला र हाम्रै विद्यालयमा पढ्ने बालबालिका भएकाले जोखिम मोलेर भए पनि वैकल्पिक व्यवस्था गरेका हौँ,” उनले भने, “पुल निर्माणका लागि निरन्तर पहल जारी छ ।”

सुनकोशी नदी किनारमा विद्यार्थीहरू बिहान ५ बजेदेखि नै भेला हुन थाल्छन् । बालकक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू बोटमार्फत नदी पार गर्छन् । एसइईको तयारीमा जुटेका विद्यार्थीहरू बिहानै कोचिङका लागि आउँछन् भने अन्य विद्यार्थी ९ बजेपछि नदी किनारमा पुग्छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै तीन वटा बोट प्रयोग गरी उमेर समूहअनुसार पालैपालो नदी पार गराइन्छ । विद्यार्थीलाई बोटमा चढ्नुअघि अनुशासनमा बस्न, नहल्लिन र नचल्न कडाइका साथ निर्देशन दिइन्छ ।

पहिले पुल हुँदाका बेला १० मिनेटमै पुगिने दूरी अब दुई घण्टा लगाएर घुमाउरो बाटो हुँदै जानुपर्ने बाध्यता बोट सञ्चालनपछि केही सहज भएको फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले बताए । उनले कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा र छात्रवृत्तिजस्ता कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिए ।

तर, वर्षायाममा रबरबोटमार्फत नदी वारपार गर्नु झनै जोखिमपूर्ण हुने भएकाले स्थानीयवासीले तत्काल स्थायी पुल निर्माणको माग गरिरहेका छन् । छोराछोरीलाई नदी किनारसम्म पुर्‍याउने अभिभावकहरू विद्यार्थी पार नपुग्दासम्म र साँझ नफर्किंदासम्म निरन्तर चिन्तामा बस्न बाध्य छन् ।

जेरुङघाटकी चन्द्रकुमारी माझी भन्छिन्, “नानीहरूलाई खोलामा चढेर जान हेर्नुपर्दा कलेजा चिरिन्छ । आधा नदी पार गरेपछि मात्र ढुक्क हुन्छ, बेलुका फेरि उस्तै पिरलो । ढुङ्गामा बोट ठोक्किँदा बालबालिका डराएर चिच्याउँछन्, त्यो सुन्‍दा मन थाम्नै गाह्रो हुन्छ । भगवान् सम्झँदै पढ्न पठाउनुपरेको छ ।”

पुल नहुँदा विद्यार्थी मात्र होइन, स्थानीय बासिन्दाको दैनिकी पनि प्रभावित भएको छ । सामान्य घरायसी सामान किन्न समेत डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । एकातिर सिन्धुली क्षेत्र सुगम छ भने सुनकोशी पारिको ओखलढुङ्गा क्षेत्र अझै पनि दुर्गम अवस्थामै रहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्