
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले श्रीमद्भगवद्गीता प्रादुर्भाव भएको दिनको स्मरणमा आज देशभर गीता जयन्ती पर्व विविध धार्मिक कार्यक्रमसहित मनाइँदै छन् । पाठपारायण, प्रवचन, ध्यान तथा गीता ज्ञानसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गर्दै यस दिवसलाई मनाउने परम्परा रहिआएको छ।
गीता जयन्तीले वैदिक ज्ञान भविष्य पुस्तामा प्रवाह गर्ने उद्देश्य बोकेको बताइन्छ। धार्मिक मान्यताअनुसार पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन महाभारत युद्ध प्रारम्भ हुनुअघि भगवान् विष्णुको आठौँ अवतारका रूपमा अवतरण भएका श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा गीता उपदेश दिएका थिए। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार अर्जुन युद्धमा उभिन अनिच्छुक भएपछि उनको दुविधा हटाउन भगवान् कृष्णले प्रदान गरेको दिव्य ज्ञान नै गीता हो।
प्रा. नेपालका अनुसार कौरव पक्षका ११ अक्षौहिणी सेना र पाण्डवका सात अक्षौहिणी सेना आमनेसामने उभिएको बेला अर्जुन भीष्मपितामहजस्ता आदरणीय व्यक्तिहरूलाई विपक्षमा देखेर विचलित भएका थिए। “अर्जुनलाई युद्धको धर्म र जीवनको सत्य बुझाउन भगवान्ले सुनाउनुभएको उपदेश नै आजको गीता हो,” उनले भने।
वेदका अधिकांश शाखा लोप हुँदै गए पनि गीता ज्ञान सदा जीवित रहोस् भन्ने उद्देश्यले गीता जयन्ती कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए। उनका अनुसार चार वेदमध्ये हाल निकै कम शाखा मात्र अवशेष छन्, र गीता पनि लोप नहोस् भन्ने जनजागरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण मानिन्छन्। प्रतिष्ठानले मोक्षदा एकादशीका दिन ११ वर्षदेखि निरन्तर गीता जयन्ती मनाउँदै आएको छ।
यस अवसरमा राजधानीको स्वयम्भूस्थित गीता मन्दिरमा विशेष कार्यक्रम आयोजना हुँदैछ। त्यस्तै, विश्व हिन्दू महासङ्घ तथा यसको विभिन्न शाखाले पनि गीता प्रवचन, भजन, र गीता पाठसहित राजधानीभर विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएका छन्।
गीता दर्शनलाई समर्पित आजका कार्यक्रमहरूमा भक्ति, ज्ञान र वैराग्य योगका मूल शिक्षामाथि विशेष चर्चा गरिनेछ।





