
काभ्रेपलाञ्चोक । महान्यायाधिवक्ता सविता भण्डारीले मानव बेचबिखनसम्बन्धी अपराधमा प्रभावकारी अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सुदृढ बनाउन सम्बन्धित संस्थाहरूबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको बताएकी छन्। सहकार्यले पीडितले छिटो र प्रभावकारी न्याय पाउने उनको भनाइ छ।
धुलिखेलमा माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा शुक्रबार सुरु भएको ‘मानव बेचबिखन प्रभावित/पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक कार्यशाला गोष्ठीमा उनले मानव बेचबिखन र ओसारपसार विश्वभर गम्भीर अपराधका रूपमा पहिचान भएको उल्लेख गरिन्। अवैध हातहतियार तथा लागुऔषधपछि मानव बेचबिखन तेस्रो ठूलो गैरकानुनी कारोबार रहेको उनले बताइन्।
महान्यायाधिवक्ता भण्डारीका अनुसार नेपालमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा आर्थिक वर्ष २०७६/७७ मा ३८५, २०७७/७८ मा ३७५, २०७८/७९ मा ३८६, २०७९/८० मा ३६६ र २०८०/८१ मा ३७३ मुद्दा अभियोजन भएका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नाकानाकामा डिजिटल बोर्डमार्फत सचेतनात्मक संदेश प्रसारण भइरहेको जनाउँदै, संयुक्त कार्यदलमार्फत अनुसन्धानलाई अझ प्रभावकारी बनाउन थप उपायहरू पहिचान गर्न आवश्यक रहेको धारणा राखे।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन केवल सीमापारको विषय मात्र नभई वैदेशिक रोजगार तथा बालबालिकामार्फत सीमाक्षेत्रमा लागुऔषध ओसारपसारजस्ता गतिविधिहरू पनि चुनौतीका रूपमा देखिएको बताउँदै प्रशासनको ध्यानाकर्षण गराइन्।
दुईदिने गोष्ठीमा पाँच प्रदेशका जिल्ला न्यायाधिवक्ता तथा जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका अधिकृतहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।





