हङकङमा दशकौँपछि सबभन्दा भीषण आगलागी, मृत्यु संख्या ९४ पुग्यो



हङकङ । उत्तरी ताई पो क्षेत्रमा रहेको वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको भीषण आगलागीको मृत्यु संख्या शुक्रबार ९४ पुगेपछि आफ्नो बेपत्ता आफन्तको खोजीमा परिजनहरू अस्पताल–अस्पताल दौडिरहेका छन् ।

केही मिनेटमै तीव्र गतिमा फैलिएको आगोले आठैवटा आवासीय भवनहरू ३६ घण्टाभन्दा बढी समयसम्म जलेर खण्डहरमा बदलिएका छन् । अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवन वरिपरि रहेका निर्माणाधीन बाँसको मचान र प्लास्टिक जाल जोखिमकारक भएको आशंका प्रकट गरिएको छ ।

शुक्रबार बिहानैदेखि उद्धार टोलीले जलेका भवनहरूबाट कालो झोलामा शवहरू निकालिरहेकाले घटनास्थल अत्यन्त त्रासदीपूर्ण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । धेरै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले स्थानीय अस्पतालहरूमा खोजी थालेका आफन्तहरूको भीड बढिरहेको छ ।

सा टिन अस्पतालमा भेटिएकी ३८ वर्षीया एक महिलाले आफ्नी बहिनी र जुम्ल्याहा नातिनीको स्थिति अज्ञात रहेको बताइन् । “अहिलेसम्म केही जानकारी पाउन सकेका छैनौँ, हरेक दिन विभिन्न अस्पताल धाइरहेका छौँ,” उनले भावुक हुँदै भनिन् ।

अस्पतालहरूमा ५० भन्दा बढी घाइतेहरू उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार आगो एक ब्लकबाट अर्कोमा अत्यन्त छिटो फैलिएको थियो ।

अग्नि सेवाले सम्पूर्ण फ्ल्याटमा खोजी कार्य पूरा गरिएको बताएको छ । तर, शुक्रबार बिहान समेत परिसरबाट सेतो धुँवा निस्किरहेको देखिएकाले आगो पूर्ण रूपमा नियन्त्रणमा आउन समय लागेको प्रष्ट हुन्छ । करिब दुई हजार आवास एकाइमध्ये केहीमा मात्र तत्काल आगो निभाइएको अधिकारीहरूको भनाइ छ ।

सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी मानिएको छ । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा कडा सुरक्षा मानक लागू गरिए पनि यस घटनाले पुनः भवन सुरक्षा, निर्माणसम्बन्धी नियमन र आकस्मिक सतर्कता प्रणालीबारे प्रश्न खडा गरेको छ ।

यसैबीच, भ्रष्टाचार विरुद्धको आयोगले परिसरमा भइरहेको नवीकरण कार्यमा सम्भावित अनियमितता रहेको भन्दै अनुसन्धान थालेको छ । त्यस्तै, लापरवाहीपूर्वक छाडिएको तरल पदार्थले आगो फैलिन सहयोग गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

केही बासिन्दाले आगलागी हुँदा फायर अलार्म नबजेको र घर–घर दौडेर चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।

हङकङ सरकारले पीडितहरूको सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको घोषणा गरेको छ । प्रभावितहरूलाई अस्थायी बसोबास, आपतकालीन सहायता, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सेवा उपलब्ध गराइने जनाएको छ ।

अनेक समुदाय तथा स्वयंसेवी समूहले राहत अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक स्थानहरूमा कपडा, खाना, औषधि र दैनिक आवश्यक सामग्री संकलन केन्द्र स्थापना गरिएको छ । सहायता अत्यधिक मात्रामा आएपछि आयोजकहरूले अहिले थप राहत सामग्री नल्याउन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्