
काठमाडौँ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र जनकनन्दिनी सीताको भएको दिव्य विवाहको सम्झनामा आज देशभर राम–सीताको पूजा–आराधना गरी विवाहपञ्चमी पर्व धूमधामका साथ मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आजको दिन विशेष महत्वका साथ भगवान् राम–सीताको विवाह महोत्सव आयोजना हुँदैछ । गोस्वामी तुलसीदासले वर्णन गरेको रामायणका कथानकलाई स्मरण गर्दै मिथिलावासीले यस पर्वलाई वर्षकै महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा मनाउने परम्परा छ ।
पौराणिक कथनअनुसार, मिथिलाका राजा जनकले राखेको स्वयंवरमा अयोध्याका राजा दशरथका जेठा छोरा रामले शिव धनुष भाँचेर सीताको वरण गरेका थिए । शिव धनुष भाँचिएको यही शुभ दिन मार्गशीर्ष शुक्ल पञ्चमीमा राम–सीताको विवाह सम्पन्न भएको विश्वास गरिन्छ ।
रामायणमा उल्लेख भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजित स्वयंवरमा ५६ कोटी देवताको अदृश्य रूपमा उपस्थित रहने जनविश्वास छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी प्रतिवर्ष यस पर्वमा उत्साहपूर्वक सहभागी हुन्छन् । प्रतिछाया जन्ती आउँदादेखि विवाह संस्कारसम्म उनीहरूको उल्लास पर्वकै आकर्षण मानिन्छ ।
महोत्सवअन्तर्गत मिथिलाली परम्परा अनुसार मटकोर, तिलकोत्सव, स्वयंवर तथा वैवाहिक विधि सम्पन्न गरिन्छ । राम मन्दिरबाट विशेष डोला सिंहासनमा विराजमान रामको प्रतिमा बाजागाजासहित रङ्गभूमितर्फ लैजाइन्छ । उता, जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा पुर्याइन्छ ।
रङ्गभूमिमा स्वयंवर र वैवाहिक विधि सम्पन्न भएपछि राम–सीतालाई जानकी मन्दिर ल्याइन्छ र मिथिला संस्कारअनुसार विवाह सम्पन्न गरिन्छ । भगवान्को डोला शोभायात्रामा विभिन्न जिल्लाका साथै भारत–नेपाल सीमावर्ती क्षेत्रबाट आएका भक्तजनहरूको ठूलो सहभागिता रहने गर्दछ ।
रङ्गभूमि मैदानमा वर–बधु पक्षबीच हुने हास–ठट्टा, गाउँगाउँबाट आएका झाँकी र लाखौँ भक्तजनको भीडले वास्तविक विवाहको रमिता झन् भव्य हुने गरेको छ । पहिल्यै तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्ला दुई दशकयता रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ ।
आज बिहानैदेखि श्रद्धालु भक्तजन पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजा–अर्चनामा तल्लीन भएका छन् । भजन–कीर्तन, रामलीला, झाँकी प्रदर्शन र प्रवचनजस्ता कार्यक्रमले महोत्सवलाई झनै आध्यात्मिक बनाएको छ । देव–मानव एकताको प्रतीक मानिने यस विवाह महोत्सवमा सहभागी भई मनोकामना पूर्ण हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
पहिले एक महिना सम्म भव्य रूपमा मनाइने यो पर्व अहिले चार दिनमा सीमित भए पनि यसको धार्मिक, सांस्कृतिक उत्साह उस्तै छ । देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा–आराधना र महोत्सवका साथ आज विवाहपञ्चमी मनाइँदैछ । आजको दिन विवाह गर्न साइत नचाहिने मान्यता पनि प्रचलित छ ।





