
काठमाडौं, मंसिर ८ ।
काठमाडौं प्रहरीले भदौ २३ र २४ गते देशव्यापी प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, आपराधिक उपद्रव तथा अन्य घटनासम्बन्धी विस्तृत तथ्य–आकडा सार्वजनिक गरेको छ। मिल्ला प्रहरी परिसरले बुधबार गरेको पत्रकार सम्मेलनमार्फत घटनासम्बन्धी अनुसन्धान प्रगतिबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार हालसम्म आपराधिक गतिविधिसम्बन्धी १०४ वटा जाहेरी–दरखास्त दर्ता भएका छन्।
व्यक्तिगत किटानी उजुरी: २२
सरकारी कार्यालय/प्रहरी सहयोग–सम्बन्धी: ६६
संस्थागत/व्यावसायिक उजुरी: १६
जम्मा दर्ता उजुरी: १०४
४९ जनाको मृत्यु भएको घटनामा ४२ उजुरी
भदौ २३ र २४ का दिन प्रदर्शनका क्रममा ४९ जनाको मृत्यु भएको घटनामा ४२ वटा उजुरी परेको प्रहरीको भनाइ छ।
मृतकमध्ये ७ जनाको पहिचान डीएनए परीक्षणका लागि बाँकी छ। घटनामा २२ जना घाइतेसम्बन्धी कागजात प्रहरीलाई प्राप्त भएको छ।
२२८ वटा क्षतिग्रस्त भवनको मुचुल्का
सार्वजनिक र निजी संरचनामा भएको क्षतिसम्बन्धी २२८ वटा मुचुल्का दर्ता भएको प्रहरीको दाबी छ।
मुद्दा दर्ता तथा गिरफ्तारी
प्रहरीले विभिन्न शीर्षकमा १५४ वटा मुद्दा दर्ता गरी २६७ जनालाई पक्राउ गरेको जनाएको छ।
थुनामा रहेका पुरुष २६२ तथा महिला ५ जना रहेका छन्।
मुख्य मुद्दा विवरणः
कसुर–ज्यान : ३ मुद्दा, १३ आरोपी
आपराधिक उपद्रव : १०४ मुद्दा, १६६ आरोपी
चोरी : ८ मुद्दा, १७ आरोपी
हातहतियार खरबन्दी : १७ मुद्दा, ४१ आरोपी
अभद्र व्यवहार : १६ मुद्दा, २१ आरोपी
५९ जना फरार पक्राउ, १०२ कैदी पुनःदाखिला
फरार थुनुवा खोजतलास अभियानमा ५९ जना (५३ पुरुष, ६ महिला) पक्राउ परेको प्रहरीको तथ्याङ्क छ।
त्यसैगरी विभिन्न मुद्दाका १०२ जना कैदी–बन्दीलाई पुनःदाखिला गरिएको छ।
८३ थान हातहतियार बरामद
प्रहरीले विभिन्न स्थानबाट ८३ थान हातहतियार बरामद गरेको छ।
यसमा ५२ थान स्वयं बुझाउन ल्याइएका तथा ३१ थान प्रहरीले फेला पारेका हुन्।
९७ प्रहरी कार्यालय प्रभावित, ८७ पुनःसम्भार
प्रदर्शनका क्रममा ९७ वटा प्रहरी कार्यालय क्षतिग्रस्त भएका थिए।
हालसम्म ८७ वटा कार्यालय पुनःसम्भारमा स्थानीय तह तथा नागरिकबाट उल्लेखनीय सहयोग प्राप्त भएको प्रहरीले जनाएको छ।
TOB समूहको गतिविधि र अनुसन्धान प्रगति
प्रहरीले “The Original Brothers (TOB)” नामक बाइक समूहका गतिविधि र प्रदर्शनमा देखिएको संलग्नताबारे पनि विस्तृत जानकारी दियो।
TOB को पृष्ठभूमि
स्थापना: २०२४ जुन १०
अध्यक्ष: तेन्जीन दावा लामा
सदस्य: ५७
उद्देश्य: मोटरसाइकल राइड, भेटघाट तथा सामाजिक सेवा
लोगो: TOB तथा ड्रागन आकृतिको प्रयोग
प्रहरीका अनुसार सो समूहका केही सदस्य भदौ २३ र २४ का प्रदर्शनमा मोटरसाइकलसहित सहभागी भएका थिए।
अध्यक्ष तेन्जीन दावा लामा पक्राउ
समूहका अध्यक्ष तेन्जीन दावा लामा २०७९ असार १४ मा जारी नागरिकता र पासपोर्ट विवरण विवाद, अभद्र व्यवहार तथा लागुऔषध मुद्दामा अनुसन्धानअन्तर्गत मंसिर २६ गते कपनबाट पक्राउ परेका थिए।
उनविरुद्ध अभद्र व्यवहार, कागजात दुरुपयोग तथा लागुऔषध (गाँजा) उपयोगसम्बन्धी तीन मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो।
टोखा–चिप्लुङ सडकछेउ भेटिएको शवबारे तथ्य
मंसिर ६ गते टोखा–९ चिप्लुङ सडकछेउ नाइलनमा बेरिएको अवस्थामा एक महिलाको शव फेला परेपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतक आयुरा मगर भएको पुष्टि भएको छ।
उनीसँगै बस्दै आएकी सयूषा थापा मगर लाई प्रहरी नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक सोधपुछमा उनले हत्या गरेको स्वीकार गरेकी छन्।
हत्या पछि शव राति १:५२ बजे सडकछेउ फालेको भिडियोसमेत प्रहरीले फेला पारेको छ।
अनलाइन बेटिङमा १० जना पक्राउ
काठमाडौं प्रहरीले अनलाइन जुवा/बेटिङ सञ्चालनमा संलग्न अभियोगमा १० जना (९ भारतीय, १ नेपाली) लाई पक्राउ गरेको छ।
यस समूहमार्फत रु. २ करोड ५ लाख बराबरको कारोबार भएको प्रहरीले जनाएको छ।
प्रयोग गरिएका साइटहरूः Stake.com र Betbook.com।
समुदायबाट उल्लेखनीय सहयोग
प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचना मर्मत तथा प्रहरी कार्यालय पुनःसम्भारमा स्थानीय सरकार र नागरिकहरूको सक्रिय सहयोग रहेको प्रहरीले बताएको छ।
स्थानीयले ४९ वटा दुईपांग्रे तथा २ वटा चारपांग्रे सवारीसाधन समेत प्रहरीलाई उपलब्ध गराएका छन्।





