
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले मनाउने म्हः (आत्म) पूजा बुधबार साँझ विधिपूर्वक सम्पन्न गरिएको छ ।
जनविश्वासअनुसार, आत्मपूजाको दिन आफ्नै आत्माको आराधना गरे वर्षभर सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । आत्मा नै मानव जीवनको मूल सार र सर्वाधिक महत्त्वपूर्ण तत्व भएकाले यसको पूजा गर्ने परम्परा स्थापित भएको धर्मशास्त्रविद् प्रा. भवानीप्रसाद खतिवडाले बताए ।
उनका अनुसार आत्म सन्तुष्ट भएमा देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिन्छन् र जीवन स्वयं सार्थक बन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
पूर्वमा केवल नेवार समुदायमा सीमित यो पूजा अहिले अन्य समुदायले पनि अंगिकार गर्न थालेका छन् । म्हः (आत्म) पूजा शास्त्रसम्मत् र मानव केन्द्रित पर्व भएकाले यसको आकर्षण क्रमशः फैलिँदै गएको बताइन्छ ।





