जापानमा ‘एकीकृत नेपाली घर’ निर्माणका लागि टोकियो सप्ताह आयोजना हुने |



काठमाडौँ । जापानमा ‘एकीकृत नेपाली घर : बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोकियो सप्ताह’ आयोजना हुने भएको छ । यो कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा र जापानस्थित विभिन्न नेपाली संघ–संगठनको सहकार्यमा आयोजना गर्न लागिएको हो ।

टोकियोको शिन्ज्युकुमा हुने यस सप्ताहव्यापी महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।

उनका अनुसार महायज्ञको मुख्य उद्देश्य ‘एकीकृत नेपाली घर’ निर्माणका लागि स्रोत जुटाउने भए पनि, नेपाली समुदायबीच एकता, भाईचारा, शान्ति र सकारात्मक सोच प्रवर्द्धन गर्दै आध्यात्मिक चेतनाको विस्तार गर्नु हो ।

एनआरएनए जापानका पूर्वअध्यक्ष नविन निउरेका अनुसार, टोकियोको चिवा केन क्षेत्रमा बहुसांस्कृतिक केन्द्रका लागि जमिन खरिद भइसकेको छ । अब उक्त स्थलमा भवन निर्माणका लागि नै यो महायज्ञ आयोजना गरिएको हो । आयोजकले यसलाई जापानमा नेपाली कला, संस्कृति र परम्परागत दर्शन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।

‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु हुने टोकियो सप्ताहअन्तर्गत प्रत्येक दिन पूजा–पाठ, प्रवचन, भजन–कीर्तन तथा प्रसाद ग्रहण–वितरणका कार्यक्रम हुनेछन् । महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले सञ्चालन गर्न एनआरएनए जापानले विभिन्न उपसमिति गठन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्