
काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर श्रद्धा र भक्तिसाथ गाई पूजा विधिपूर्वक सम्पन्न गरिएको छ । वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र र माताको प्रतीकका रूपमा पूजा गरिन्छ ।
गाईलाई ‘गौमाता’ भनिने चलन यसको धार्मिक र जीवनोपयोगी महत्वसँग जोडिएको छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले त्यसलाई जीवनदायी आहार मानिन्छ । स्थानीय जातका गाईमा पाइने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गोबर र गहुँतमार्फत मानिसलाई शक्ति प्रदान गर्छ भन्ने विश्वास परम्परागत रूपमा रहँदै आएको छ, जसलाई आधुनिक विज्ञानले पनि समर्थन गरेको बताइन्छ । यही कारण गाईलाई राष्ट्रिय जनावरको सम्मान दिइन्छ ।
धार्मिक परम्परा अनुसार आजको दिन गाईलाई मीठा–मीठा परिकार अर्पण गरी पूजा गरेमा त्यसबाट शुद्धता र समृद्धि प्राप्त हुने जनविश्वास छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार नेपालका केही भागमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यही धार्मिक मतका आधारमा आज देशभर गाई पूजा गरिएको हो ।
यस दिन साउन शुक्ल पूर्णिमामा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँध्ने चलन पनि रहिआएको छ । धार्मिक विश्वासअनुसार यसरी डोरो बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराई स्वर्गसम्म पुर्याउने विश्वास गरिन्छ । त्यसै विश्वासका प्रतीकस्वरूप आज भक्तजनले गाईको पुच्छरमा रक्षाबन्धन बाँधी श्रद्धापूर्वक पूजा अर्चना गरेका छन् ।





