
वीरगञ्ज । पर्सा जिल्लामा आसन्न छठपर्व नजिकिँदै गएपछि पोखरी र नदी किनाराहरू सिँगार्ने र सरसफाइ गर्ने कार्य तिव्र रूपमा चलिरहेको छ । स्थानीयवासीको सक्रिय सहभागितामा वीरगञ्जसहित जिल्लाका विभिन्न छठ घाटहरू आकर्षक रूपमा सजाइँदै छन् ।
मिथिलाञ्चलको सांस्कृतिक पहिचान बोकेको छठपर्वका अवसरमा घडीअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाट लगायतका धार्मिक स्थलहरूमा विशेष तयारी भइरहेको छ । घाटहरूको सरसफाइ पूरा भइसकेको छ भने सजावटको काम तिहारपछि झनै गतिशील रूपमा गरिने तयारी छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुका अनुसार यस वर्ष पनि अघिल्ला वर्षझैँ भव्य र सभ्य रूपमा छठ पर्व मनाउने तयारी थालिएको छ ।
‘यो वर्ष हामीले पण्डाल र झकिझकाउ सजावटमा अझ बढी आकर्षण ल्याउने प्रयास गरेका छौँ,’ उनले बताए, ‘घडीअर्वा पोखरीमा दर्शन गर्न आउने श्रद्धालुहरूको संख्या गत वर्षभन्दा बढी हुने अपेक्षा गरिएको छ ।’
अध्यक्ष कानुका अनुसार छठको तयारीका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । घडीअर्वा पोखरीमा मात्र हरेक वर्ष एक लाखभन्दा बढी श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । भारतको बिहार राज्यका विभिन्न जिल्ला र नेपालका विभिन्न सहरबाट पनि भक्तजन यहाँ आउने परम्परा रहेको छ ।
तराई–मधेसका महिलाले परिवार र सन्तानको सुख, समृद्धि र दीर्घायुका लागि श्रद्धापूर्वक छठ पूजा गर्ने गर्छन् । यस वर्ष छठपर्वको मुख्य दिन कात्तिक १० गते पर्नेछ, जुन दिन कात्तिक शुक्ल षष्ठी हो । यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि आरम्भ भएर षष्ठीका दिन सूर्य उपासनासँगै सम्पन्न हुने गर्दछ ।
घडीअर्वा पोखरीमा दुई दशकदेखि निरन्तर रूपमा छठ पर्व मनाइँदै आएको छ । स्थानीय समितिको भनाइअनुसार, भक्तजनलाई सहज र सुरक्षित रूपमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सबै तयारी तीव्र गतिमा अघि बढाइएको छ ।
‘घडीअर्वाको छठ पर्वको मुख्य आकर्षण पण्डाल र यसको भव्य सजावट हो,’ अध्यक्ष कानु भन्छन्, ‘यही कारणले यो पोखरी केवल धार्मिक स्थल मात्र नभई सांस्कृतिक गन्तव्यको रूपमा पनि परिचित बन्दै गएको छ ।’





