
काठमाडौँ । कार्तिक कृष्ण चतुर्दशीको अवसरमा आज बिहान वैदिक सनातन परम्पराअनुसार नरक चतुर्दशी पर्व विधिपूर्वक मनाइएको छ । अरुणोदयकालअघि नदी, तलाउ वा धारामा स्नान गरी यो पर्व मनाउने प्रचलन रहँदै आएको छ ।
स्नानपछि सालको पातमा यमदीप बालेर दक्षिण दिशातर्फ फर्काई बगाउने विधि आज धर्मावलम्बीहरूले पूरा गरेका छन् । यस कर्मलाई ‘नरक स्नान’ र ‘नरक बगाउने’ भनिन्छ, जसलाई बोलीचालीमा ‘नरके नुहाएर बगाउने’ नामले पनि चिनिन्छ ।
धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालको अनुसार आजको दिन यसरी स्नान गरी दीपदान गरे नरकको दर्शन गर्न नपर्ने धार्मिक विश्वास रहेको छ । यही कारण यो दिनलाई ‘नरक चतुर्दशी’ भनिन्छ ।
आजै कुकुरको पूजा गरी मीठा परिकार खान दिने परम्परा पनि छ । साँझपख औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि गरिनेछ ।
तिथिको घटबढका कारण यस वर्ष नरक चतुर्दशी र कुकुर तिहार दुबै तिहारको तेस्रो दिन परेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । अरुणोदयकालअघि चतुर्दशी तिथि परेको भएकाले आज बिहानै नरक स्नान गरी दीपदान गर्न समितिले निर्णय गरेको हो ।
यस वर्ष कात्तिक १ गतेदेखि सुरु भएको यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन यमदीप दिपावली मनाइएको थियो भने दोस्रो दिन काग तिहार र धनवन्तरी पर्व मनाइयो ।
बडा दसैँपछि मनाइने यो दोस्रो ठूलो पर्वलाई उज्यालोको चाडका रूपमा पनि चिनिन्छ । यमपञ्चक प्रारम्भसँगै सहर बजार झिलिमिली उज्यालोले झकिझक गर्दैछ । विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीहरूले हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन् ।





