सैन्य आधार तालिम सम्पन्न



नेपाली सेनाका विभिन्न तालिम केन्द्र र युनिटहरूमा सञ्चालन भएको सैन्य आधार तालिम सोमबार (२०८२ असोज २७ गते) सम्पन्न भएको छ। तालिम समापनका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरे।

९ महिनासम्म सञ्चालन भएको उक्त तालिम देशभरका १९ स्थानमा सम्पन्न भएको हो। यसबाट २,१०२ जना पुरुष र ३४९ जना महिला गरी कुल २,४५१ जना सैनिक दीक्षित भएका छन्।

श्री नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सम्पन्न अन्तिम दलेल कवाज कार्यक्रममा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह उपस्थित थिए। साथै, अन्य तालिम केन्द्र, पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति र ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्दै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नवदीक्षित सैनिकका परिवारजन र स्थानीय सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्