‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक |



लन्डन । बेलायतको वेल्स, ब्रेकनमा सम्पन्न ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२५’ मा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ ।

गत असोज १७ देखि २६ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्चतम अंक प्राप्त गरेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो । कुल ३३ देशका ११७ टिम सहभागी प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यस वर्ष स्वर्ण पदक हात पारेको हो ।

१० दिनसम्म सञ्चालन भएको अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो । सो क्रममा सहभागी टोलीले करिब ४८ घण्टाभित्र ६० किलोमिटरभन्दा बढी दूरी तय गर्दै करिब ३५ केजीसम्मको उपकरणसहित हतियार बोकेर गस्ती, घाइतेको उद्धार, समाचार सङ्कलनजस्ता विभिन्न कार्य पूरा गर्नुपर्थ्यो ।

नेपालले असोज २३ देखि २५ गतेसम्म आफ्नो अभ्यास प्रदर्शन गरेको थियो । सन् १९६० देखि सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि सहभागिता जनाउँदै आएको हो । यसअघि सन् २०१७, २०१९ र २०२४ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।

सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण नेपालले सहभागिता जनाउन सकेको थिएन । बेलायती सेनाका अनुसार, वेल्सको ब्रेकन क्षेत्र भौगोलिक र मौसमीय हिसाबले अत्यन्त चुनौतीपूर्ण रहेकोले यो अभ्यासलाई विश्वकै कठिन सैन्य गस्ती अभ्यासमध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्