नेपाली सेनालाई ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक



काठमाडौँ । मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा आयोजित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको छ । उक्त सैन्य अभ्यास २०८२ असोज २३ देखि २५ गतेसम्म सम्पन्न भएको थियो ।

यो अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० देखि वार्षिक रूपमा हुँदै आएको यस अन्तर्राष्ट्रिय सैन्य प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि निरन्तर सहभागिता जनाउँदै आएको छ ।

दुई दिनभित्र हतियार, करिब ५० पौण्ड तौल बराबरका उपकरण तथा बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने यस अभ्यासमा टोलीको तयारी, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापन लगायतका विविध क्षमताको परीक्षण गरिन्छ ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको छ । यस वर्षको उपलब्धिले नेपाली सेनाको व्यावसायिक दक्षता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्