तिहार नजिकिँदै जाँदा बजारमा किनमेलको चहलपहल बढ्यो |



काठमाडौँ । तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि काठमाडौँ उपत्यकाका बजारहरूमा अहिलेदेखि नै किनमेल गर्नेहरूको भीड बढ्न थालेको छ ।

आगामी कात्तिक २ गतेबाट सुरु हुने तिहारलाई लक्षित गर्दै उपभोक्ताहरूले आवश्यक सामग्री किन्न बजार धाउन थालेका छन् । व्यापारीहरूका अनुसार यस वर्ष पनि राजधानीका प्रमुख व्यापारिक केन्द्रहरू—न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर र थिमि क्षेत्रमा ग्राहकको भीड दिनप्रतिदिन बढ्दै गएको छ ।

असनका व्यापारी भाइकाजी मर्हजनका अनुसार तिहारका लागि माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मीपूजाका सामग्री, भाइमसला, अमला, ढाका टोपी, भाँडावर्तन र लुगा कपडा किन्नेहरूको चाप उल्लेखनीय रूपमा बढेको छ । उनले भने, “तिहार नजिकिँदै जाँदा बजारको रौनक पनि बढ्दै गएको छ । दैनिक रूपमा ग्राहकहरूको भीड बढिरहेको छ ।”

त्यस्तै, तिहारलाई लक्षित गर्दै साना ठूला पसल र सपिङ सेन्टरहरूले विभिन्न छुट र अफरसहित सामान बिक्रीमा राखेका छन् । साँझपख सडकछेउ र फुटपाथमा पनि दियो, बत्ती, मालासहितका तिहार सामग्रीको आकर्षक सजावट देख्न सकिन्छ, जहाँ ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

सुनधारास्थित फुटपाथमा लुगा बिक्री गर्दै आएकी शान्ति भुजेलका अनुसार साँझ र बिदाका दिन बजार अत्यधिक व्यस्त रहने गरेको छ । उनले भनिन्, “नयाँ लुगा, घर सजावटका सामग्री र झिलिमिली बत्ती किन्नेहरूको भीड बढेको छ । त्यसैले अहिले व्यापार निकै राम्रो भइरहेको छ ।”

इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकाको तयारीसँगै भाइमसला प्याक, ढाका टोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को बिक्री बढ्दै गएको छ । उनले थपे, “विशेष गरी महिला र बालबालिकाका लागि आकर्षक लुगा र शृङ्गार सामग्री बढी बिक्री भइरहेको छ ।”

यस्तै, चिसो बढ्न थालेसँगै जाडोका कपडाको व्यापार पनि फस्टाउँदै गएको व्यापारीहरूले बताएका छन् । उनीहरूका अनुसार हाल बजारमा तिहारसँगै जाडोलाई लक्षित गरेर नयाँ कपडा र तातो लुगा बिक्रीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्