भूटानी शरणार्थी शिविरबाट लागुऔषध कारोबारमा संलग्न आठ जना पक्राउ |



झापा । झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बेलडाँगी शिविर सेक्टर नं. ३ हट नं. ३५३ का साजन थापाको घरमा छापा मार्दा चस्माको खाली खोलमा लुकाइएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली गाउँपालिका–३ का ३२ वर्षीय दीपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक–३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पवीन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी शिविर सेक्टर बी–२ हट नं. १९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ गाउँपालिका–८ का २० वर्षीय निश्चल पोर्तेल रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार पक्राउ परेका आदित्य लिम्बू गत असोजमा दमकमा भएको ‘जेनजी प्रदर्शन’का क्रममा प्रहरीको हतियार लुट्ने घटनामा समेत संलग्न रहेको खुलेको छ ।

त्यस्तै, मिक्लाजुङ–८ का निश्चल पोर्तेल मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेका कैदी हुन् । उनी भदौ २४ गते ‘जेनजी प्रदर्शन’का क्रममा हिरासतबाट भागेका फरार अभियुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्