
काठमाडौँ । नेपाली सेनाले भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने क्रममा गरेको भूमिकाबारे विभिन्न क्षेत्रबाट प्राप्त सुझाव, प्रतिक्रिया र समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्त गरेको छ। सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको वस्तुपरक मूल्याङ्कन गर्दै, शीघ्र रूपमा शान्ति र सुरक्षा पुनःस्थापना गर्न आवश्यक पहल गरेको स्पष्ट पारेको छ।
हालको संवेदनशील अवस्थाका बीच केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र यसको नेतृत्वलाई जोडेर विभिन्न टिप्पणी र धारणा प्रवाह भएकोतर्फ सेनाको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। नेपाली सेनाले आफ्नो गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जानकारी पनि दिएको छ।
यस क्रममा, नेपाली सेनाले आफ्ना गतिविधि तथा जानकारी सम्बन्धी यथार्थपरक सूचना प्राप्त गर्नका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न र त्यसैका आधारमा सूचनाहरू सम्प्रेषण गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।





