
महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज श्रद्धा र उल्लासका साथ करवाचौथ पर्व मनाइँदैछ । यस अवसरमा विवाहित महिलाहरू—मिथिलानीहरूले आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै दिनभर निराहार व्रत बसेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकका अनुसार मिथिलानीहरूले बिहानैदेखि व्रत प्रारम्भ गरी राति चन्द्रमा उदाएपछि पूजा अर्चना गरी पतिको दीर्घजीवनको प्रार्थना गर्ने परम्परा रहिआएको छ ।
व्रतालु महिलाहरूले चन्द्रमा उदाएपछि पहिले चन्द्रमाको दर्शन र पूजा गर्छन् । त्यसपछि पतिको पूजा अर्चना गरी उनको हातबाट जल ग्रहण गरी व्रत समापन गर्ने चलन छ । जलेश्वर–८ का पण्डित गोविन्द झालका अनुसार महिलाहरूले पूजा सकेर पतिको हातबाट पानी ग्रहण गरेपछि पतिलाई प्रसाद खुवाउने र त्यसपछि आफैं पनि प्रसाद ग्रहण गर्ने प्रथा रहेको छ ।
करवाचौथमा महिलाहरू राति नयाँ रङ्गीन वस्त्र, चुरा, पोते, सिउँदोमा सिन्दुर र विभिन्न गरगहना लगाएर सिँगारिन्छन् । चन्द्रमा उदाएपछि चाल्ना (आँटा चलाउने जालीदार पात्र) मा दीप बालेर त्यसको जालीबाट चन्द्रमाको दर्शन गर्छन् । त्यसपछि सोही चाल्नाबाट आफ्ना पतिको दर्शन गरी चन्द्रमा र पतिको पूजासँगै व्रत पूरा गर्छन् ।
यो पर्वमा चन्द्रमा र पतिको प्रतीकात्मक एकता देखाइन्छ । मिथिलानीहरूले चन्द्रमाजस्तै उज्यालो र दीर्घायु जीवनको कामना गर्दै पतिको कल्याणका लागि प्रार्थना गर्छन् ।
करवाचौथ पर्व तराई–मधेसका महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ लगायतका जिल्लासँगै भारतको विहार राज्यका मधुबनी, सीतामढी, मुजफ्फरपुर, पटना र दरभङ्गालगायत मिथिला क्षेत्रहरूमा पनि श्रद्धा र हर्षोल्लासका साथ मनाइन्छ ।





