दसैँपछि काठमाडौँ फर्किनेहरूको भीड बढ्यो |



काठमाडौँ । दसैँ सकिएसँगै राजधानी फर्किने यात्रुहरूको सङ्ख्या तीव्र रूपमा बढ्न थालेको छ । पर्व मनाएर आ–आफ्ना गाउँघर गएका नागरिक फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकाहरूमा यात्रु र सवारीसाधनको भीड बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असोज १७ गतेदेखि बुधबार साँझसम्म कुल एक लाख ५५ हजार ६९७ जना काठमाडौँ उपत्यकामा प्रवेश गरेका छन् । दसैँ सकिएपछि बाढी–पहिरो र वर्षात्का कारण अवरुद्ध राजमार्गहरू खुल्न थालेसँगै सवारी आवागमन पनि सहज बन्दै गएको उनले जानकारी दिए ।

उनका अनुसार असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना र २२ गते १५ हजार ८३१ जना गरी कुल एक लाख ५५ हजार ६९७ जना उपत्यकामा भित्रिएका छन् ।

दसैँका लागि राजधानीबाट बाहिरिएका नागरिकहरूको सङ्ख्या आठ लाख ६८ हजार ७२ पुगेको छ । अहिले नागढुङ्गा, फर्पिङ, बलम्बु, साँगा, जगातीजस्ता नाकामा दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन उपत्यकामा भित्रिने–निस्कने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

दसैँ मनाएर फर्किनेहरू मध्ये अधिकांश रोजगारी, अध्ययन र व्यापारका कारण पुनः राजधानी फर्किएका हुन् । बिदा सकिएसँगै काठमाडौँको जनजीवन पनि क्रमशः सामान्य बन्दै गएको छ । मन्त्रालय, कार्यालय, पसल र विभिन्न संस्था सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्