
तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित धार्मिक एवं पर्यटकीय गन्तव्य छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण कार्य सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको यो मन्दिरलाई आकर्षक र व्यवस्थित बनाउन पालिकाले विशेष पहल गरेको हो । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित मन्दिर क्षेत्रको संरचना सुधार गरिएको गाउँपालिकाले जनाएको छ ।
वडाध्यक्ष सन्तोष गुरुङका अनुसार मन्दिर परिसरमा नेपाली कला र संस्कृति झल्किने पौवा–पाटी (फाल्चा) निर्माण गरिएको छ, जसले दर्शनका लागि आउने भक्तजन र पर्यटकलाई विश्राम सुविधा प्रदान गर्नेछ । मन्दिरभित्र पित्तलका चदँुवा र पाताहरू जडान गरिएको छ भने बाहिरी भागमा तेरिया इँटाले पेटी र सिँढी ढाकिएको छ । साथै आँगन क्षेत्रमा ढुङ्गा छापेर वातावरण थप आकर्षक बनाइएको छ ।
“मन्दिरलाई आकर्षक र व्यवस्थित बनाएर यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,” वडाध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाले नजिकै रहेको बूढीमाई मन्दिर समेत पुनर्निर्माण गर्ने योजना अघि सारेको छ । सात देवीमध्येकी जेठी बुढीमाईको मन्दिर परम्परागत काठ संरचनामा पुनर्निर्माण गरिने बताइएको छ ।
गोरखाकी मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरीमाईको मन्दिरमा पूजा गरेपछि मनले चाहेको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई एउटै क्षेत्र छिम्केश्वरीलेकमै अवस्थित छन्, भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई यही स्थानबाट दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु र माछापुच्छ्रे लगायतका हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ, जसले यो क्षेत्रलाई धार्मिक मात्र नभई प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक बनाएको छ ।
महाभारत शृङ्खलाको सबैभन्दा उच्च स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष शुक्र चुमानले बताए । उनका अनुसार धार्मिक पर्यटन प्रवर्द्धनका लागि बजेट प्राथमिकताका साथ विनियोजन गरिएको छ ।
हाल छिम्केश्वरीमा वार्षिक करिब एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी फागुपूर्णिमा, वैशाख १ गते लगायतका अवसरमा यहाँ ठूलो भीड लाग्ने गरेको छ भने दैनिक रूपमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो क्रममा रहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए ।
मन्दिरसम्म पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ४१ लाख ६३ हजार ७०६ लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण गरिएको थियो भने आव २०७६/७७ मा रु ३५ लाख ९९ हजार १४१ लागतमा थप ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न गरिएको छ ।





