चितवनमा अझै १५६ कैदीबन्दी फरार |



चितवन । जिल्ला कारागार चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फिर्ता भएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म फर्किनुहुन आग्रह गर्दै सूचना जारी गरे पनि उनीहरू हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।

कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार तोकिएको समयभित्र ५७८ जना कैदीबन्दीले आत्मसमर्पण गरेका छन् । तीमध्ये ५३९ पुरुष, ३७ महिला र उनीहरूसँगै दुई नाबालक पनि कारागार फर्किएका छन् । फरारमध्ये ६० जनाको परिवारसँग सम्पर्क भए पनि उनीहरू फर्किन तयार नभएको बताइएको छ ।

भदौ २५ गते ‘जेनजी आन्दोलन’का क्रममा ७४२ जना कैदीबन्दी कारागारबाट भागेका थिए । त्यसयता विभिन्न समयमा सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरिएको थियो । भागेकामध्ये आठ जना अन्य जिल्लाका कारागार—भैरहवा, धादिङ, सुर्खेत, बागलुङ र नुवाकोट—मा पुगेका छन् ।

त्यस्तै, अन्य जिल्लाबाट भागेका २१ जना कैदीबन्दी चितवन कारागारमा आएका छन् । तोकिएको म्यादसम्म सम्पर्कमा नआएका फरार कैदीबन्दीमाथि कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख ढुङ्गानाले बताए ।

कारागार प्रशासनले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कसुरदार ठहर गरी कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्