दसैँको दक्षिणालाई सिर्जनात्मक काममा प्रयोग गर्दै टीकापुरका बालबालिका



कैलाली । बडादसैँको अवसरमा मान्यजनबाट प्राप्त दक्षिणालाई टीकापुरका बालबालिकाले यस वर्ष सिर्जनात्मक काममा सदुपयोग गर्न थालेका छन् ।

कक्षा ७ मा अध्ययनरत अविन शर्माले यस वर्ष टीकापछि दुई हजार ५० रुपैयाँ दक्षिणा पाए । उनले सो रकमबाट अध्ययनका लागि कापी, कलम, चित्रकला सामग्री र रंगीन कागज किन्ने तयारी गरेका छन् । “पहिले त दक्षिणा खानपिनमा खर्च गर्थें, तर अहिले पढाइका सामग्री किन्ने सोच बनाएको छु,” उनले भने, “अनावश्यक खर्च नगर्ने योजना बनाएको छु।”

त्यस्तै, कक्षा ११ की विद्यार्थी नेहा उपाध्यायले पनि दक्षिणा आफ्ना आवश्यक सामग्री किन्न खर्च गर्ने बताइन् । उनले भनिन्, “हाम्रो कक्षामा शिक्षकले दक्षिणा बचतको महत्वबारे सिकाउनु भएको थियो, त्यसैले म भाइबहिनीलाई पनि बचत गर्न सिकाउँदै छु।”

कक्षा ५ की स्मीता धामीले भने आफ्नो दक्षिणा चित्रकला सामग्री किन्न प्रयोग गर्ने योजना बनाएकी छिन् । चार महिनादेखि चित्रकला र नृत्य सिकिरहेकी उनले भनिन्, “चित्रकला सिक्न चाहिएको सामान आफैंले दक्षिणाबाट किन्ने सोच बनाएकी छु, बुवाआमालाई भार नपरोस् भनेर।”

यस्तै, विद्यार्थी राकेश विकले भने यस वर्षको दक्षिणा आमालाई थन्क्याइदिएका छन् । “तिहारमा बहिनीलाई दक्षिणा दिनुपर्छ, त्यसैले आमालाई राखिदिएको छु,” उनले भने, “यसपालि आफ्नै रकमबाट दिने योजना छ।”

दसैँका समयमा धेरैजसो बालबालिकाको हातमा दक्षिणा आउँछ । कतिपयले त्यो रकम अनावश्यक खर्च गर्छन्, तर टीकापुरका बालबालिकाले भने त्यसलाई उपयोगी काममा लगाउने अभियान देखिएको छ ।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीका अनुसार, चाडपर्वको लामो बिदालाई सिर्जनात्मक र सिकाइमुखी कार्यमा प्रयोग गर्न अभिभावकले सन्तानलाई प्रोत्साहन दिनुपर्ने बताउँछन् । उनले भने, “यो समय विद्यालयमा सिकेको ज्ञान व्यवहारमा उतार्ने राम्रो अवसर हो । अभिभावकले आफ्ना बालबालिकालाई दक्षिणाको सही सदुपयोग, बचत र पैसाको मूल्य बुझाउने बानी विकास गर्न सहयोग गर्नुपर्छ।”

अवस्थीका अनुसार, बालबालिकाले बिदाको समय सिर्जनात्मक काममा प्रयोग गर्न सके उनीहरूमा व्यावहारिक सीप, अनुशासन र जिम्मेवारीबोध पनि विकसित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्