मेची राजमार्ग र तमोर कोरिडोर अवरुद्ध, वैकल्पिक मार्गबाट यातायात सञ्चालन



तेह्रथुम, असोज २१ गते ।
लगातारको वर्षासँगै आएको बाढी–पहिरोका कारण मेची राजमार्ग र तमोर कोरिडोर सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् । हाल फिदिम–म्याङ्लुङ–धनकुटा–धरान रुटबाट आवतजावत भइरहेको छ ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्लाका यात्रुहरू प्रायः मेची राजमार्ग र तमोर कोरिडोरमार्फत पूर्वी तराई झर्ने गर्छन् । तर हाल बाढी–पहिरोका कारण एक दर्जनभन्दा बढी स्थानमा सडक अवरुद्ध भएपछि उनीहरू लामो दूरी र महँगो भाडा तिरेर वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका हुन् ।

फिदिमबाट मध्यपहाडी लोकमार्ग हुँदै म्याङ्लुङ पुग्दा झापा बिर्तामोडसम्म, र तमोर कोरिडोर भएर धरानसम्म पुग्ने सडकहरू अहिले अवरुद्ध छन् । यस कारण यात्रुहरू बसन्तपुर–हिले–धनकुटा हुँदै धरान–काठमाडौँ फर्किन थालेका छन् ।

तेह्रथुमको म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौँकी कमला पाठकले पनि वैकल्पिक मार्ग हुँदै म्याङ्लुङ आइपुगेको बताइन् । उनले काठमाडौँ फर्किन बसन्तपुर–हिले–धरान रुट रोजेको जानकारी दिइन् । पाँचथरका राजकुमार सेलिङ पनि वैकल्पिक बाटो हुँदै झापा बिर्तामोड गएका छन् ।

पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि तराई झर्ने बिरामी तथा कामविशेषले राजधानी फर्किनेहरूका लागि वैकल्पिक रुट अहिले राहतको माध्यम बनेको छ ।

तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमबाट झापा, मोरङ र सुनसरी जाने सवारीसाधन अहिले म्याङ्लुङ हुँदै सञ्चालनमा छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार सोमबार मात्रै उक्त वैकल्पिक रुटबाट करिब २०० सवारीसाधन आवतजावत गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालिगुँरास नगरपालिकाको चित्रेसम्म १२० किलोमिटर सडकमध्ये २४ किलोमिटर मात्र पक्की छैन । फेदाप गाउँपालिकाको ओयाक्जुङ–इसिबु र खोरङ्वा–यावरा खण्डमा झण्डै २४ किलोमिटर कच्ची सडक रहे पनि फेदाप गाउँपालिकाले आइतबार मर्मत गरेर आवतजावत सहज बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार धनकुटा हुँदै धरानसम्मको सडक सुरक्षित रहेकाले यातायात सञ्चालनमा तत्काल समस्या छैन ।

यसैबीच, पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने दु्रतमार्ग तमोर कोरिडोरका साथै ताप्लेजुङ–पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्ग पनि विभिन्न स्थानमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्