
काठमाडौं, असोज २१ गते ।
संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसन (United Nations Mission in South Sudan – UNMISS) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

शान्ति स्थापना कार्यका लागि खटिएको श्रीनाथ गण (१४औँ डफ्फा) लाई प्रतिस्थापन गर्न नयाँ गोरख गण (१५औँ डफ्फा) का १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज (असोज २१ गते) मिसन इलाका प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू असोज २० गते स्वदेश फर्किएका छन् ।
हाल संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका कुल १ हजार ७५७ जना शान्ति सैनिकहरू विभिन्न जिम्मेवारीमा कार्यरत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।





