घट्टेकुलो चोकमा डेरावासीका लागि सामूहिक दुर्गा पूजा



काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि सामूहिक दुर्गा पूजा आयोजना गरिएको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि यहाँ दुर्गाको अस्थायी मूर्ति स्थापना गरी घटस्थापनासहित पूजा–आराधना सुरु गरेको हो ।

काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीका अनुसार विभिन्न जिल्लाबाट आएका डेरावासीलाई पूजाआजामा सहभागी हुन सहज बनाउने उद्देश्यले सामूहिक पूजा सुरु गरिएको हो । व्यक्तिगत रूपमा दुर्गा स्थापना र पूजा गर्न कठिन हुने भएकाले सामूहिक आराधनाले सबैलाई सुविधा हुने उनले बताए ।

डेढ दशकदेखि यहाँ फलफूल व्यवसाय गर्दै आएका दोलखाका रविप्रसाद काफ्लेले आफ्ना गाउँ फर्कन नसक्नेहरूका लागि सामूहिक पूजाले ठूलो सहयोग गरेको बताए । राजधानीको मुख्य चोकमै यसरी दुर्गा पूजा हुने पहिलो स्थान घट्टेकुलो भएको उनको भनाइ छ ।

यसअघि कुपण्डोल र पशुपति क्षेत्रमा पनि यस्तै गरी दुर्गा स्थापना गरी सामूहिक पूजा हुँदै आएको काउन्सिलका सचिव सुबोधचन्द्र साहले जानकारी दिए ।

पूजास्थलमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । देवी भजन, स्तोत्र र बेला–बेला गुञ्जिने मालश्री धुनले शरद ऋतुमा दसैँको उल्लासमय वातावरण थपिएको छ । स्थानीय मिथिला मानन्धरका अनुसार सामूहिक दुर्गा उपासनाले सहरी जीवनमा एक्लिने समस्या कम भई सामाजिक–सांस्कृतिक आदानप्रदान र मेलमिलाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्