छिन्नमस्ता भगवती मन्दिरमा करिब दुई लाख भक्तजनद्वारा दर्शन



सप्तरी । विजयादशमीको अवसरमा सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार घटस्थापनादेखि छैटौँ दिनसम्म मात्रै दुई लाखभन्दा बढी भक्तजन मन्दिर पुगेका छन् । विशेषगरी सप्तमी, अष्टमी र महानवमीका दिन यहाँ भक्तजनको भीड अत्यधिक हुने गर्दछ । ठाकुरका अनुसार यस वर्ष नेपाल तथा भारतका करिब १० लाख भक्तजनले पूजाआजा गर्ने अनुमान गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका–३ का अध्यक्ष विद्ययानन्द चौधरीले भक्तजनको सुरक्षाका लागि सम्पूर्ण तयारी मिलाइएको जानकारी दिए । उनका अनुसार मन्दिर परिसरमा ३२ वटा र गाउँपालिकाको सहयोगमा मन्दिर बाहिर थप १६ वटा गरी कुल ४८ वटा सिसिटिभी क्यामेरा जडान गरी प्रहरीमार्फत निगरानी गरिएको छ ।

सप्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गौतमकुमार केसीले पनि भीड व्यवस्थापन र सम्भावित आपराधिक घटना रोकथामका लागि सुरक्षा योजना पूर्ण रुपमा लागू गरिएको बताए । दसैँको समयमा भक्तजनको अत्यधिक उपस्थितिलाई ध्यानमा राखी प्रहरीले चनाखो निगरानी गर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्