
काठमाडौँ । दसैँ सुरुवातसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । घटस्थापना पछिल्ला तीन दिनमा मात्र एक लाख ३८ हजार दुई सय ९६ यात्रु उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रु विभिन्न नाकामार्फत काठमाडौँ बाहिरिएका हुन् । थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रु गन्तव्यस्थलतर्फ गएका थिए ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार अध्ययन, रोजगारी, व्यापार वा अन्य कामका लागि उपत्यकामा बस्नेहरुले दसैँ मनाउनका लागि गाउँ फर्किन थालेका हुन् ।
यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले लगातारको वर्षा र पहिरोका कारण यात्रुहरूलाई असुविधा भएको बताए । ‘मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरोका कारण घण्टौँसम्म सवारी रोकिँदा बस ढिला आउँछ र यात्रुलाई पठाउन समस्या हुन्छ,’ उनले भने ।
गोँगबुस्थित नयाँ बसपार्कमा समेत यात्रुको भीड बढेको छ । बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार दसैँ नजिकिँदै गर्दा दैनिक करिब ५०० बस उपत्यकाबाट बाहिरिन थालेका छन् । सामान्यतया औसतमा दैनिक २५० बस मात्र छुट्ने गरेका थिए ।
यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा उपत्यकाका १५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको पनि जनाएको छ ।





