झापाबाट फरार ९१ थुनुवा अझै अज्ञात |



झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी र तोडफोड भएपछि तीन प्रहरी कार्यालयबाट ९२ जना थुनुवा फरार भएका थिए । तीमध्ये एक जना आफैं सम्पर्कमा आएका छन् भने बाँकीको खोजी कार्य जारी छ ।

उक्त आन्दोलनको क्रममा विर्तामोडको अनारमनी इप्रकाबाट ५१ जना, दमकबाट ३६ जना र झिलझिलेदेखि पाँच जना थुनुवा फरार भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच, आन्दोलनकै क्रममा विर्तामोड र दमकस्थित प्रहरी कार्यालयबाट लुटिएका अधिकांश हतियार फिर्ता भएका छन् । लुटिएका ९९ थान हतियारमध्ये हालसम्म ७५ थान फिर्ता भइसकेको र २४ थान अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

फिर्ता भएका हतियारमध्ये ११ थान एसएलआर, २६ थान इन्सास राइफल, १८ थान थ्री–नट–थ्री राइफल, पाँच थान सट गन, छ थान ग्यास गन, छ थान रिभल्भर र तीन थान एसएमजी रहेको प्रहरीले जनाएको छ । फरार थुनुवा र बाँकी हतियारको खोजतलास तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्