इक्वेडरको जेलमा झडप, १४ जनाको मृत्यु |



क्विटो । इक्वेडरको जेलमा कैदीहरूबीच भएको भीषण झडपमा बन्दुक र विस्फोटक प्रयोग हुँदा १३ कैदी र एक गार्डको ज्यान गएको छ ।

पहिले शान्तिपूर्ण मानिने यो देश हाल अमेरिकी लागुऔषध कारोबारसँग जोडिएका गिरोहहरूको गतिविधि बढेसँगै हिंस्रक घटनामा फँसिरहेको छ । भीडभाडयुक्त जेलमा भएको पछिल्लो रक्तपात त्यहीँ शृङ्खलाको उदाहरण बनेको हो ।

कमाण्डर कर्णेल विलियम क्यालेका अनुसार प्रतिद्वन्द्वी गिरोहबीचको भिडन्तमा १४ जनाको मृत्यु भएको छ भने कैयौँ कैदी भागेका छन् । झडपमा १४ जना घाइते भएका र भागेका मध्ये १३ कैदीलाई पुनः पक्राउ गरिएको उनले जानकारी दिए ।

दक्षिणपश्चिम इक्वेडरको पेरु नजिकैको माचाला जेलमा बिहान सबेरै गोली चलेपछि सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए । झडपका क्रममा एक सुरक्षाकर्मीलाई गोली हानी मारिएको र केहीलाई बन्धक बनाइएको बताइएको छ । भिडन्त करिब ४० मिनेटसम्म चलेको थियो ।

मृतक कैदीहरू इक्वेडरका सबैभन्दा ठूलो लागुऔषध तस्करी समूह लस चोनेरोसलस लोबोस का सदस्य रहेको पुष्टि भएको छ । प्रहरीले यो हिंसालाई गिरोहबीचको द्वन्द्वको परिणाम भनेको छ । जेलमा रहेको कैदी संख्या क्षमता भन्दा दोब्बर भएको तथ्य पनि सार्वजनिक गरिएको छ ।

करिब १.७ करोड जनसंख्या भएको इक्वेडर हाल विश्वकै हिंस्रक मुलुकमध्ये पर्न थालेको बताइन्छ । केवल सन् २०२१ फेब्रुअरीदेखि अहिलेसम्मकै अवधिमा झडपमा करिब ५०० कैदी मारिएका छन् । कतिपय अवस्थामा मृतकको शरीर टुक्रा–टुक्रा पारिएको वा जलाइएको अवस्थामा भेटिने गरेको अधिकारीहरूले जनाएका छन् ।

इक्वेडर विश्वका दुई प्रमुख कोकिन निर्यातकर्ता मुलुक, कोलम्बिया र पेरुबीच पर्छ । यही कारण मेक्सिकन तथा कोलम्बियाली कार्टेलसँग आवद्ध गिरोहहरूबीच कोकिन नियन्त्रणको प्रतिस्पर्धा तीव्र बनेको छ । सरकारी तथ्याङ्कअनुसार विश्वमा उत्पादित कोकिनको ७० प्रतिशतभन्दा बढी इक्वेडरका समुद्री शहरमार्फत बाहिरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्