भीमफेदी कारागारबाट फरार कैदीमध्ये धेरैजना आफैँ फर्किए |



मकवानपुर । जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये ठूलो संख्यामा आफैँ कारागार फर्किएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारका प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म १९८ जना कैदीबन्दी पुनः कारागार फर्किसकेका छन्।

तीमध्ये ६८ जना आफैँ कारागारमा उपस्थित भएका हुन् भने बाँकीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर फर्काइएको पौडेलले जानकारी दिए। साथै, विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीसहित कुल २५९ जनालाई कारागार फर्काइएको छ।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको तीनवटा गेट र पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकका २६० र अर्को ब्लकका १८० गरी ४४० जना कैदीबन्दी फरार भएका थिए।

फरार कैदीबन्दीको खोजी कार्य अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनका अनुसार अझै २४२ जना कैदीबन्दीको खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्