
भक्तपुर। भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्धका लागि ठूलो भिड लागेको छ। आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत आफन्तको नाममा पिण्डदान हुने क्रममा आज अन्तिम पितृपक्षको दिन भएकाले विशेष रूपमा घुइँचो बढेको हो।
हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गर्दा दिवङ्गतको आत्माले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ। भक्तपुरका साथै आसपासका क्षेत्रका नागरिक पनि यही विश्वासका साथ स्रोहश्राद्ध गर्न यहाँ आउने गरेका छन्, जानकारी पुरोहित धनेशराज राजोपाध्ययले दिएका छन्।
पुरोहित राजोपाध्ययका अनुसार, “पितृपक्षमा हनुमानघाट तथा हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा पिण्डदान गरी श्राद्ध सम्पन्न गरिन्छ। यसो गर्दा दिवङ्गत पूर्वज मात्र नभई दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।”
नेवार समुदायमा सोह्रश्राद्धको विशेष महत्त्व रहेको छ। यसलाई नगरे कुलदेवताको पूजा गरी भोजन गर्न नमिल्ने धार्मिक मान्यता रहेको पुरोहितले बताए। वर्षभरि गरिने कुनै पनि शुभकार्यको आरम्भ अघि पनि यो श्राद्ध आवश्यक मानिन्छ।
हनुमानघाटलाई त्रिवेणी घाटका रूपमा लिइन्छ। आजको दिन यहाँ स्नान गरी स्रोहश्राद्ध सम्पन्न गर्दा पाप नष्ट हुने र दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउने धार्मिक विश्वास रहेको पुरोहित राजोपाध्ययले जानकारी दिए।





