आज पितृपक्ष समापन, भोलिदेखि दुर्गापक्ष सुरु



काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औँसी तिथिमा तर्पण, सिदादान र पिण्डदानसहित समापन हुँदैछ । दिवङ्गत पितृको सम्झनामा गरिने यो कर्मलाई ‘सोह्रश्राद्ध’ पनि भनिन्छ, जसअन्तर्गत पन्ध्र दिनसम्म श्राद्ध गरी आज औँसीका दिन अन्त्य गरिन्छ ।

शास्त्रअनुसार कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएकाहरूले आज अनिवार्यरूपमा गर्नुपर्ने मान्यता छ । यस्तै, अझै गर्न नसक्ने भए आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा वृश्चिक सङ्क्रान्तिसम्म समेत गर्ने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि परेका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योगमा पनि अड्किएको सोह्रश्राद्ध गर्न सकिने उल्लेख छ । श्राद्ध अझै गर्न नसक्नेहरूले ब्राह्मणमार्फत वैदिक मन्त्र जप गराएर १० महिनासम्म निरन्तर पूजाआजा गर्ने विकल्पसमेत छ, जसले पितृलाई तृप्ति दिने विश्वास गरिन्छ ।

धर्मशास्त्रअनुसार पितृपक्षमा दिवङ्गत आत्माहरू पिण्ड र जलको आशमा पृथ्वीमा झर्ने मान्यता छ । यस अवसरमा श्राद्ध नगरेमा पितृ असन्तुष्ट भई श्राप दिने भन्ने उल्लेख प्राचीन ग्रन्थहरूमा गरिएको छ । त्यसैले यो अवसरलाई वैदिक सनातन धर्मावलम्बीहरूले ठूलो श्रद्धासाथ मनाउने गर्छन् ।

आज उपत्यकाको गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको भीड लागेको छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुने परम्परा छ । असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्ष सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्