
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’को प्रदर्शनका क्रममा नेपालका विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका हजारौँ कैदीबन्दीमध्ये अझै ८,८१६ जना फरार रहेको तथ्यांक सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका २७ कारागार र नौ बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए । सो क्रममा २९ हजार २१२ कैदीमध्ये १३ हजार ५९१ जना कारागारबाट र १,४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका हुन् ।
फरार हुने कारागारहरूमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर रहेका छन् । त्यसैगरी मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीस्थित बालसुधारगृहबाट पनि कैदीबन्दी फरार भएका थिए ।
निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म ५,४९५ जना कैदीबन्दी कारागारमा र २४४ जना बालसुधारगृहमा फिर्ता आएका छन् । तर, अझै ८,८१६ जना कैदीबन्दी फरार रहेका र उनीहरूको खोजी नेपाल प्रहरीमार्फत जारी रहेको विभागले जनाएको छ ।





