कैलालीमा कारागारबाट भागेका २२६ कैदीबन्दी फर्किए



अत्तरिया । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी फेरि कारागारमा फर्किएका छन्। उनीहरू गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनको क्रममा भागेका थिए।

जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार, फर्किएकामध्ये २७ महिला र १९९ पुरुष छन्। केही कैदीबन्दी भने भागेको भोलिपल्टै स्वयं सम्पर्कमा आएका थिए।

सापकोटाले भने, “फर्किएकामध्ये धेरै कैदीबन्दीले आफैं सम्पर्क गरे भने केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी कारागार बुझाएको छ। कारागार व्यवस्थापन विभागले पनि बाँकी कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ। सूचना जारी गरिएको छ र प्रहरीले खोजी कार्य जारी राखेको छ। छिट्टै सबै कैदीबन्दी कारागारमा फर्किने विश्वास छ।”

कैलाली कारागारमा हाल ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका छन्। ‘जेनजी’ प्रदर्शनका क्रममा ६६६ जना कैदीबन्दी भागेका थिए भने अझै ४४१ जना कारागार बाहिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्