नक्कली कागजात बनाउने तीन जना पक्राउ |




काठमाडौँ। नक्कली कागजात तयार पार्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ घर भई हाल काठमाडौँ धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २१ वर्षीय सविन आलेमगर रहेका छन् ।

प्रहरी उपरीक्षक एवं परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार सामाखुशी टाउनप्लानिङस्थित अचल लामिछानेले सञ्चालन गरेको ‘इजीसप’मा एसइई प्रमाणपत्र, प्रहरी रिपोर्ट तथा विभिन्न होटल–संस्थाका ‘एक्सप्रेन्स लेटर’लगायत नक्कली कागजात बनाइने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पसलमा खानतलासी गर्दा कम्प्युटरमा सरकारी तथा गैरसरकारी कार्यालयका अनेकौँ किर्ते कागजात फेला परेका छन् । कम्प्युटरसहित बरामद सामग्री नियन्त्रणमा लिएर पक्राउ परेका तीन जनाविरुद्ध अनुसन्धान जारी छ । काठमाडौँ जिल्ला अदालतबाट उनीहरूलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्