
सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह उच्च बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको थियो ।
यसअघि आइतबार दिउँसो २ बजे पानीको प्रवाह एक लाख ७४ हजार ३७५ क्युसेक नापिँदा २३ ढोका मात्रै खोलिएको थियो । तर, राति जल सतह थप बढेपछि ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएको खतिवडाले जानकारी दिए ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ । हाल कन्ट्रोल रुमले सोहीअनुसार रातो बत्ती प्रज्वलन गरिएको जनाएको छ ।
प्रहरी प्रवक्ता खतिवडाका अनुसार पहाडी भेगमा भइरहेको लगातार वर्षाका कारण सप्तकोशीमा पानीको सतह अझै बढिरहेको छ ।





