दार्चुलामा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न



दार्चुला । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दार्चुलाको खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल, नेपालका डिआइजीस्तरीय “काउन्टर पार्ट कोर्डिनेशन मिटिङ” सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण मुख्यालय दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिए ।

उनका अनुसार बैठकमा दुवै पक्षले आफ्नो–आफ्नो जिम्मेवारी, विद्यमान सुरक्षा परिस्थिति तथा सम्भावित खतराको समीक्षा गरेका थिए । साथै सीमा क्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखनलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त सहकार्य गर्ने सहमति भएको छ ।

बैठकमा सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउन, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत तथा पुनःस्थापना अघि बढाउन सम्बन्धित निकायलाई प्रतिवेदन गर्ने र सीमा क्षेत्रमा आवागमनलाई सहज एवं सौहार्दपूर्ण बनाउन पहल गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराका गणपति तथा छाङ्रुस्थित गुल्मपति सहभागी थिए । भारततर्फ अल्मोडाका डीआइजी सुधाम्सु नौटियाल, पिलिभितका डीआइजी अनिलकुमार शर्मालगायत अधिकारीसहित १० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्