हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न, प्रधान सेनापतिको समापन



काठमाडौं, असार १८ –
नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम (Higher Command and Management Course) सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम आज असार १८ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले एक विशेष समारोहका बीच गर्नुभयो।

२०७८ फाल्गुण २२ गतेबाट सुरु भएको यस तालिममा महासेनानी दर्जाका २ महिला र ३३ पुरुष गरी कुल ३५ जना अधिकृतले सहभागिता जनाएका थिए। समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री सन्तोष बल्लभ पौडेलले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य, प्रक्रिया र उपलब्धिबारे जानकारी गराउनुभएको थियो।

तालिममा महासेनानी सुरज बैदवारलाई ‘समग्रमा उत्कृष्ट’ घोषित गर्दै Best Student Officer को सम्मान प्रदान गरिएको छ भने महासेनानी उत्तम सापकोटाले ‘सर्वोत्कृष्ट सोधपत्र पुरस्कार’ प्राप्त गर्नुभएको छ।

समारोहमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द, अन्य अधिकृत तथा सहभागी अधिकृतहरूको परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली सेनामा सैनिक अधिकृतहरूको नेतृत्व विकासका लागि सञ्चालित यो तालिम सबैभन्दा उच्चस्तरको मानिन्छ र वि.सं. २०७१ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्