
शिवपुरी, जेठ ३० —
प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देललाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीले “कलेज हल अफ फेम” (College Hall of Fame) सम्मान प्रदान गरेको छ। कलेज परिसरमै आयोजित अधिष्ठापन समारोह (Induction Ceremony) मा शिक्षाध्यक्ष उपरथी श्री चोक बहादुर ढकालले प्रधान सेनापतिलाई “Certificate of Honor” प्रदान गर्दै सम्मानित गरेका हुन्।

यो सम्मान कलेजबाट तालिम लिएका व्यक्तिहरूमध्ये विशिष्ट जिम्मेवारी तथा पदमा पुगेकालाई दिइने चलन अनुसार प्रदान गरिएको हो। उनीहरूको तस्बिर विशेष कक्षमा राखी उच्च सम्मान प्रकट गरिन्छ।

नेपाली सेनाको इतिहासमा सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट दीक्षित भई प्रधान सेनापतिमा नियुक्त हुने महारथी सिग्देल तेस्रो व्यक्ति हुन्। यसअघि महारथी पूर्णचन्द्र थापा (अ.प्रा.) र महारथी प्रभुराम शर्मा (अ.प्रा.) ले पनि यस्तै सम्मान प्राप्त गरिसकेका थिए।
समारोहकै अवसरमा प्रधान सेनापतिले कलेजको निरीक्षण गर्दै त्यसका विविध पक्षहरूबारे जानकारी लिएका थिए। कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरू, सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षकहरू, नेपाली सेनाका बहालवाला र अवकाशप्राप्त रथी वर्ग, कलेजका पूर्व शिक्षाध्यक्ष, स्वदेशी तथा विदेशी शिक्षार्थीहरूको उपस्थिति रहेको थियो।





