
त्रिशूली, २०८२ जेठ २३
नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित नौ महिने सैन्य आधार तालिम आज एक औपचारिक समारोहका साथ समापन गरिएको छ। तालिम समापनको अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी सैनिक जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए।
देशभरका १९ स्थानमा सञ्चालन गरिएका तालिमहरू सफलतापूर्वक सम्पन्न भई कुल २,९५१ जना नयाँ सैनिक दीक्षित भएका छन्। तीमध्ये २,५६४ जना पुरुष र ३८७ जना महिला छन्।

समापन समारोह अन्तर्गत श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी श्री निर्मल कुमार थापा तथा श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक श्री ध्रुव प्रकाश शाहको प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै अन्य पृतना, बाहिनी तथा गण/गुल्महरूमा पनि सम्बन्धित पृतनापति, वाहिनीपति लगायत ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे।

तालिम समापन कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नवदीक्षित सिपाहीहरूका परिवारजन तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





