
प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले २०८२ साल जेठ ५ र ६ गते सिराहा, बारा र अमलेखगञ्ज क्षेत्रमा रहेका नेपाली सेनाका विभिन्न इकाइहरूको निरीक्षण भ्रमण गर्नुभएको छ।

उहाँले सिराहास्थित श्री नं. २७ बाहिनी अड्डा, बारास्थित श्री नं. २८ बाहिनी अड्डा, अमलेखगञ्जस्थित श्री प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र शान्ति कार्य लजिष्टिक शाखाको अवलोकन गर्नुभएको हो। भ्रमणको क्रममा प्रधान सेनापतिले सम्बन्धित इकाइहरूको कार्यक्षमता, जिम्मेवारी क्षेत्रको वस्तुस्थिति र सञ्चालनका विविध पक्षहरूको जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो।
त्यसैगरी, धनुषाको भिमानस्थित एकीकृत फायरिङ अभ्यास इलाकामा सञ्चालित तालिमको समेत उहाँले निरीक्षण गर्नुभएको छ। उक्त अभ्यास सेनाको तालिमात्मक क्षमताको परीक्षण तथा अभिवृद्धिका लागि आयोजना गरिएको थियो।






