
चितवन, वैशाख २०
प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्यमार्फत उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण नेपालले पछिल्ला दशकमा प्रस्तुत गरेको छ। सामुदायिक वनको अवधारणादेखि सुरक्षात्मक भूमिकासम्म, नेपालको संरक्षण नीतिलाई विश्वभर सराहना गरिएको छ।
वन तथा वातावरण मन्त्रालय, नेपाली सेना र स्थानीयवासीको समन्वयमा पछिल्ला दशकमा पाटे बाघ, एकसिङ्गे गैँडा र बाह्रसिङ्गा जस्ता लोपोन्मुख प्रजातिको संख्या दोब्बरले बढेको छ। नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल गौरवकुमार केसीका अनुसार, “यो ऐतिहासिक उपलब्धि साझेदारी र सहकार्यको प्रतिफल हो।”
वि.सं. २०३२ देखि राष्ट्रिय निकुञ्ज सुरक्षा जिम्मेवारी पाएको सेनाले “वन र वन्यजन्तु सबैका लागि” भन्ने नारासहित संरक्षणमा सक्रियता देखाउँदै आएको छ। हाल सेनाका आठ गण, सात अनाश्रित गुल्म र एक प्रकृति शिक्षालयमार्फत करिब ८ हजार सैनिक देशभरका २० संरक्षित क्षेत्रमा खटिएका छन्।
यस क्रममा ११६ जना सैनिकले वीरगति प्राप्त गरेका छन्। चालु आर्थिक वर्षमा मात्रै जङ्गली जनावरको आक्रमणमा २१ नागरिकको मृत्यु भएकोमा आठ जना सैनिक समेत छन्।
संरक्षित क्षेत्रले नेपालको २३.३९ प्रतिशत भूभाग ओगटेको छ। चितवन, सगरमाथा, रारा, बर्दिया, लाङटाङ, मकालु–बरुण लगायतका १२ राष्ट्रिय निकुञ्ज, कोशी टप्पु तथा ढोरपाटन शिकार आरक्षण र अन्नपूर्ण, कञ्चनजङ्घा लगायतका संरक्षण क्षेत्र रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सेनाका ४४ जना वीरगति प्राप्त गरिसकेका छन्। निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्र र ७२९ वर्गकिलोमिटरको बफर जोनमा हाल ८ सय जनशक्तिले ६० वटा आउटपोष्टमार्फत सुरक्षा दिइरहेका छन्। निकुञ्जले दैनिक २१५ गस्ती गर्दै आएको छ भने हाल ५२९ दिनदेखि शून्य चोरी–सिकारीको अवस्था कायम गरिएको छ।
२००९ मा १२१ रहेको पाटे बाघको संख्या २०२२ मा ३५५ पुगेको छ। एकसिङ्गे गैँडा ४०० बाट ७५२, हिउँ चितुवा ३९७ र अर्ना ४४१ पुगेको अनुमान छ।
निकुञ्जको सुरक्षा र बासस्थान व्यवस्थापनमा सवारी, हात्ती, डुङ्गा, साइकल, मोटरसाइकल लगायत माध्यम प्रयोग गरिएको छ। पछिल्लो वर्ष गस्तीका क्रममा ११ थान हतियार, १४६७ पासो, २५२ सवारी साधन र १० आखेटोपहार बरामद गरिएको छ।
सेनाले ‘हण्ट’ तथा ‘महाहण्ट’ जस्ता विशेष अभियान, ड्रोन, सिसी क्यामेरा, स्पाई क्यामेरा, भेइकल ट्र्याकिङजस्ता प्रविधिको प्रयोग गरेर सुरक्षा प्रणाली सुदृढ गरेको छ।
हिमाल सफाइ अभियान
सन् २०१९ देखि सुरु गरिएको हिमाल सफाइ अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से, धौलागिरी, कञ्चनजङ्घा, मनास्लु लगायतका हिमाल सफा गरिएका छन्। हालसम्म ११९,०५६ किलो फोहर संकलनसँगै १२ वटा शव र ४ मानव अस्थिपञ्जर फेला पारिएको छ।
नेपाली सेनाले संरक्षणलाई केवल सुरक्षाको विषय नभई जैविक विविधता, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलनको आधार मान्दै यसको दीर्घकालीन प्रभावमा विश्वास लिएको छ।





