जनकपुरधाममा महामूर्खको खोजी शुरु



धनुषा । जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामूर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ ।

मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।

महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला नाटय कलापरिषद् ९मिनाप०ले प्रत्येक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ । मिनापले प्रत्येक वर्ष मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई महामुर्खसहित विभिन्न व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ ।

आपसी भाइचाराका रुपमा लिइएको होली पर्व जनकपुरधाममा हिन्दूसँगै विभिन्न धर्ममा आस्था राख्नेहरुले सँगै मनाउँछन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले करिब तीन दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए ।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुने मिनापका महासचिव मल्लिकले बताए । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । सोअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । सोअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादित तरकारीको माला लगाइदिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्